बाबुरामले भने- अबको प्रधानमन्‍त्री देउवा, ओली र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ

बाबुरामले भने- अबको प्रधानमन्‍त्री देउवा, ओली र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ

२ माघ, गोरखा ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने बताएका छन् । गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने बताएका हुन्  ।

उनले भने,‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अवैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्ता मात्र बाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ । दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्। केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ । त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

आफू र आफ्नो पार्टी चौथो दल भएकाले पालो नआउने र आए पनि आफू पदलोलुप नभएकाले दाबी नगर्ने उनले स्पष्ट पारे । नेकपाको ओली र प्रचण्ड–नेपाल समूह बीच निर्णयक सम्बन्ध बिच्छेद नहुँदा पनि समस्या लम्बिरहेको उनले बताए । उनले भने, ‘पार्टीबाट निष्काशन नगरेसम्म त उनीहरुकै प्रधानमन्त्री हुन्छन् ओलीजी । त्यसैले उनीहरुको पनि अडान स्पष्ट देखिएको छैन । नेपाली कांग्रेस पनि स्पष्ट ढंगले आउन सकिरहेको छैन ।’

ओलीले चुनाव गराउँदै नगराउने दाबी गर्दै उनले चुनावको सपना नदेख्न आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.