बाटोमा हिँडिरहेकाको घाँटीबाट सिक्री तथा हातबाट ब्याग खोसेर चोरी गर्ने गिरोह पक्राउ

बाटोमा हिँडिरहेकाको घाँटीबाट सिक्री तथा हातबाट ब्याग खोसेर चोरी गर्ने गिरोह पक्राउ

३ माघ, पर्वत ।
बाटोमा हिँडिरहेका व्यक्तिको घाँटीबाट सिक्री तथा हातबाट ब्याग थुतेर चोरी गर्ने गिरोह पर्वतमा सक्रिय रहेको भेटिएको छ ।

मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् ।

उनीहरुले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नंको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले पुस २९ गते मोदी गाउँपालिका–८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिँडीरहेकी सोही ठाउँकी ७० वर्षीया महिलाको नगदसहितको झोला चोरी गरेर भागेका थिए ।

स्कुटर चढेर हिँडेका दुई अपरिचित व्यक्तिले महिलाको झोला खोसेर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका–११ पकुवास्थित सार्वजनिक स्थानमा उनीहरुलाई फेला पारेका थिए ।

उनीहरुको साथबाट चोरी गरेको रु १९ हजार १३०, झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफर्म नामक रसायन तथा कैंचीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

अस्पतालमा शल्यक्रियापूर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधिसमेत बरामद गरिएका कारण अभियुक्तले यस्तो औषधि प्रयोग गरी लुटपाट गर्दै आएको हुनसक्ने उनले बताए । बागलुङमा औषधि सुँघाएर लुटपाट भएका घटना यसअघि सार्वजनिक भएका थिए ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.