५ माघ, त्रिशूली ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–५, दुईपिपलको कोल्पुटारबाट अवैध रूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
आइतबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोस्ट कोल्पुटारबाट खटिएको प्रहरीले अवैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ ।
काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नं ३ उल्लेखित ०१–०२४ च ४२७० नंको बोलेरो गाडी र संग्लग्न व्यक्तिलाई वन ऐनअनुसार कारबाही चलाउन लागिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।
वन कार्यालयको अनुमति नभई ओसारपसार गर्न नपाइने व्यवस्था भएको र रातको समयमा लुकाई लैजान लागेको काठ अवैध पाइएसँगै उनीहरुलाई जिल्ला अदालत नुवाकोटमार्फत कारबाही अघि बढाउन लागिएको कार्यालयका सूचना अधिकारी तुलाराम घिमिरेले जानकारी दिए ।(रासस)