१० माघ, विराटनगर ।
प्रतिबन्धित लागुऔषधसहित विराटनगरबाट एक भारतीय महिला पक्राउ परेकी छन् ।
विराटनगर–१५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतीय महिला पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् ।
उनलाई शुक्रबार सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो प्रोक्सिभन (७२०ट्याब्लेट र फेर्नागन (६० एम्पुल सहित पक्राउ गरेको हो । यसै गरी झापा दमक–८ स्थित सेतुमारी रोडबाट दुई जना लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई–२ का २१ बर्षीय कनैया गनगाई र रतुवामाई–८ का २० बर्षीय राज कुमार गनगाई रहेका छन् । शुक्रबार विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २१ प १०३ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरुमाथि चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनीहरुको साथबाट नगद ४ हजार ७ सय रुपैया समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनएको छ ।
यसै गरी झापाको मेचीनगर–६ स्थित मेचीपुलबाट मोरङ उर्लावारी–२ का ३१ बर्षीय सुजन परियार लागुऔषध सहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।