रित्तिन थाल्यो चिनीको मौज्दात

रित्तिन थाल्यो चिनीको मौज्दात

काठमाडौं : सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ ।

साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन ।

यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरीद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरीदका लागि अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति पाएको थियो । साल्टसँग यतिबेला १ हजार टन मात्र चिनी मौज्दात रहेको छ । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले खरीद अनुमति नदिनु दुःखद कुरा भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘मौज्दात पर्याप्त राख्न र बजार मूल्य नियन्त्रण गर्न हामीले दशैंअघि नै खरीद अनुमति माग्दा पनि अहिलेसम्म अनुमति पाउन सकेनौं जसको असर अहिले बजार मूल्यमा परिरहेको छ,’ उनले भने ।

चिनीको मौज्दात रित्तिने क्रममा रहेको भएपनि साल्टले खरीद अनुमति पाउन अझे करीब डेढ महीना लाग्न सक्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार यति बेला नेपाली चिनी उद्योगहरूले उखु क्रशिङ गरिरहेकाले आन्तरिक उत्पादन कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.