१९ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल) समूहको केन्द्रीय समितिको बैठक सरेको छ।
बिहान ११ बजे बस्ने भनिएको उक्त बैठक दुई घण्टाका लागि सारिएको हो। अब दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।
यता नेकपाको ओली पक्षले भने प्रचण्ड–माधव पक्षले बोलाएको केन्द्रीय कमिटि बैठक आधिकारिक नहुने बताएको छ। महासचिव विष्णु पौडेलले कुनै पनि बैठक नबोलाएको भन्दै ओली समूहले विज्ञप्ति जारी गरेको छ।
केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा नेकपाको केन्द्रीय कमिटी बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्वारा बोलाइने वैधानिक व्यवस्था रहेको भन्दै केन्द्रीय कमिटि बैठक बोलाइएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
‘पार्टीको विधान, अभ्यास, प्रचलन र पछिल्लो पटक निर्वाचन आयोगको निर्णय (अभिलेखीकरण) अनुसार पार्टीको आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा महासचिवद्धारा बोलाइने भन्ने स्पष्ट छ ।
यस अनुसार कमरेड महासचिवद्वारा कुनै बैठक नबोलाइएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।