कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

१९ माघ, काठमाडौं ।
कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। सोही बमोजिम कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको हो ।

प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सेतोपाटीलाई जानकारी दिए।

वैशाख–जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो।

बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसअघि १ हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो । कोरोना महामारीबीच ४ लाख ३३ हजार २७१ जना परीक्षार्थी सहभागी थिए। नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’नियन्त्रक शर्माले भने,‘अरु माध्यमबाट हेर्न वैवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ। यसका लाग राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमबाट हेर्न सकिन्छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.