प्रचण्ड–माधव समूहद्वारा ओलीलाई साधारण सदस्यबाट निष्काशन

प्रचण्ड–माधव समूहद्वारा ओलीलाई साधारण सदस्यबाट निष्काशन

१९ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको बताए । यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए । उनले भने ‘बैठकले यस अघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’

बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए । यस अघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

उनले भने ‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’

प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देशन जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत प्रवक्ता श्रेष्ठले बताए । उनले भने ‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रका विरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भिरतापूर्वक नियाल्ने छ र पार्टी सँधै लोकतन्त्रको पक्षमा छ र त्यस प्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.