प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

१९ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस अघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने ‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’

प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देशन जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.