२० माघ, काठमाडौँ ।
नेकपाको दाहाल–नेपाल समूह आज पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ ।
अहिले ११ बजे आफुहरु आयोग जान लागेको दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार आवश्यक परे अध्यक्षद्वय दाहाल र नेपाल पनि आयोगमा उपस्थित हुन सक्नेछन् ।
४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।
यसअघि ओली र दाहाल-नेपाल पक्षले फरक–फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल(नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जानेछ ।