२० माघ, पोखरा । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशिल ४२ जना पर्यटन व्यवसायीका लागि चिनिया भाषा कक्षा तालिम सुरु गरेको छ ।
नेपाल आउने चिनिया पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनिया भाषा कक्षा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनिया भाषा कक्षा तालिम बहुउपयोगी बन्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए ।