२३ माघ, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
उनले सरकारका गलत कदमविरुद्ध सडक संघर्ष जारी राख्ने बताएका हुन् । नेकपा दाहाल–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमविरुद्ध चुप लागेर नबस्ने बताए ।
‘‘केपी ओलीले जे–जे गर्छन्, तमासा हेरेर बस्नेवाला छैनौँ,’’ उनले भने, ‘हामी उनको असंवैधानिक कदमका विरुद्धमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर सडक आन्दोलनमा छौँ ।’’
उनले आफूहरुले यही माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी दिए । आफूहरुको आन्दोलन प्रतिगमनका विरुद्ध भएको उनको भनाइ छ ।