२९ माघ, काठमाडौँ ।
प्रहरी हिरासतबाट रिहा भएकी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।
रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’
उनले संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने भनिन् । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’
राष्ट्रपति भण्डारीको आलोचना गरेको भन्दै प्रहरीले बिहीबार बिहान झाँक्रीलाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको छ ।