१ फागुन, काठमाडौं ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ।
२०६२–६३ सालको जनआन्दोलनसँगै उक्त सशस्त्र विद्रोह अन्त्य भएको थियो। संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।
जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ (हाल बारपाक सुलिकोट गापा–८) मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ। यसै अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिपूर्ण ढंगले समाजवादी क्रान्ती सम्पन्न गर्न सकिने बताएका छन् ।
जनयुद्ध दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजवादी क्रान्ती सम्पन्न गर्न हतियार उठाउनुपर्ने आवश्यक नरहेको बताए । उनले समाजवादी क्रान्ती अबको मुख्य कार्यभार भएको बताए । समाजवादी क्रान्ती गर्दा जनयुद्धको के भूमिका रहन्छ भन्ने विषयमा बहस गर्न सकिने उनको भनाइ छ ।
समाजवादी क्रान्ती गर्दा प्रतिक्रियावादीले प्रतिरोध गर्न सक्ने र दमन गर्नुपर्ने अवस्था आउन सक्ने बताए । गृहमन्त्री बादलले समाजवादी क्रान्ती असफल पार्न खोजे त्यसका लागि सचेत हुनुपर्ने बताए ।