२ फागुन, काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । उनले भने, ‘यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ ।’
७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको नेता नेपालले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो ।
प्राधनमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताए । उनले प्रश्न गरे, ‘यिनका डरबाट हामी त्रसित हुन्छौं ? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?’