३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
भूकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै उनले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताएका हुन् ।
उनले आफ्नो ३ बर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दे विकास निर्माण र मानवविकास सुचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । उनले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसंग भएको बताए ।
यसकारण प्रतिनिधिसभा विघटन गरेँ
उनले आफ्नै पार्टी भित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोर्याए ।
सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टी भित्रबाट असहयोग हुदै आएको भन्दै उहाँले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे । उनले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गरे ।
उनले भने “आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था श्रृजना भयो । झण्डै ३ बर्ष देखि संबैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए,सरकारले संसदमा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदुत नियुक्ति गर्न दिइएन, संबैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाईमा अड्काउँछन् ,विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संसोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो,सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।”
सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफु हरदम सचेत रहेको, अनेकौ लाञ्छाना सहेरै भएपनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भएपनि आफु सफल हुन नसकेको उनले बताए ।
सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुख पुर्ण स्थितिमा सरकार रहेको उनले उल्लेख गरे ।
प्रतिनिधिसभा विघटन गर्नु पुर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफुले लगातार प्रयास गरिरहेको पनि उनले उल्लेख गरे ।
संसदीय दलमा आफ्ना विरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उनले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले बैकल्पिक सरकारको कतै संभावना नदेखेपछि आफुले प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।
वेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफुले त्यस किसिमको निर्णय गरेको पनि उनले प्रष्ट पारे । देश अस्थिरता र अस्थायीत्व तर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने संभावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उनले स्पष्ट पारे ।
मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उनले स्पष्ट पारे ।
आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उनले राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको स्पष्ट पारे ।
उनले आफ्नो निर्णयका बारेमा विभिन्न टिकाटिप्पणी हुनेगरेको, जनादेशको अवहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाईएको प्रति आफुलाई खेद लागेको बताए । उनले भने “के मुलुकलाई अस्वस्थ्य राजनीतिको गोलचक्करमा फसिरहन दिने ? ”
सरकारले अलोकतान्त्रिक काम नगर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी गरे । ताजा जनादेशको लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उनले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिवद्धता दोहोर्याए ।
उनले भने “कुनै हालतमा चुनाव गराउँदैन भनेर भन्नुहुन्छ उहाँहरु । उहाँहरु राजनीतिक गर्नुहुन्छ कि जन्मकुण्डली पल्टाउनुहुन्छ ? कस्तो राजनीति गर्नुहुन्छ उहाँहरु ? ”
अघिल्लो जनादेशबाट आएका पात्रहरु उपयुक्त नभएकाले निर्वाचनमा गएर नया पात्र चयन गरि प्रणालीमा सुधार गर्ने उद्घोष गरे । समय अगावै निर्वाचनमा जानु भनेको जनादेशप्रतिको अवहेलना नभई सम्मान भएको पनि उनले दाबी गरे ।
उनले भने “जुन नेतालाई जनादेश प्राप्त भएन जनताबाट पराजित नेतालाई नै जस्केलाबाट छिरेर प्रधानमन्त्री हुनुपर्ने ? पराजित भएको जुन ठाउँ हो त्यही ठाउँ मलाई चाहियो भनेर अस्वस्थ्य अवाञ्वित क्रियाकलाप र समिकरण गरेर लोकतान्त्रिक मुल्य मान्यतालाई धरापमा पार्ने काम कदापि हुन दिईने छैन । ”
प्रधानमन्त्री ओलीले संविधानले निदृष्ट गरेको बाटोमा सरकार हिडेको भन्दै सरकारले सधै लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतीबाट चल्ने स्पष्ट पारे ।
उनले व्यक्तिगत स्वार्थका लागि केही नेताले निर्वाचन घोषणा भईसकेपछि एकजुट भएर चुनावमा जानुपर्नेमा पार्टीलाई नै विभाजित गर्ने कमजोर बनाउने अपराधपूर्ण काममा लागेको आरोप लगाए । नेताहरुबाट भएका अस्वस्थ्य गतिविधिहरु अलोकतान्त्रिक, गैरजिम्मेबार र असंबैधानिक भएको टिप्पणी उनले गरे ।
सरकारका कामको फेयरिस्त
प्रधानमन्त्री ओलीले आफुले सरकारको नेतृत्व गरेपछि गरेका विभिन्न कामहरुको फेयरिस्त नै राखे । यो अवधिमा ८९ नया कानुन निर्माण भएको, संविधान सम्मत नभएका सयौ कानुनहरु संशोधन भएको तथा केन्द्र र प्रदेशस्तरीय वित्तिय व्यवस्थापनका लागि आवश्यक कानुन, कार्यविधि निर्माण भएको जानकारी उनले दिए ।
आफुले सरकारको नेतृत्व लिने बेलामा अर्थतन्त्र अस्तव्यत, छरिएको, भद्रगोल र अन्यौलमा रुमलिएको अवस्थामा रहेकाले र आफुले त्यसकिसिमको अर्थतन्त्रलाई सम्हालेको उनले बताए । उनले आफुले सरकारको नेतृत्व सम्हालेको पहिलो बर्ष मुलुकले ७ प्रतिशत, दोश्रो बर्ष ७ भन्दा माथिको आर्थिक बृद्धि हासिल गरेको तथा ७ वटा प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशत भन्दा माथि रहेको दाबी गरे ।
उनले कोरोनाका कारण केही समय प्रभावित भएपनि मुलुक पुन उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भईसकेको दाबी गरे । अर्को बर्ष १० प्रतिको आर्थिक बृद्धि हुने संकेत देखिएको दाबी पनि उनले गरे ।
उनले ३ बर्षको अवधिमा २९ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको ,९ लाख भन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाईएको ,नेपालमा गरिबी नबढेको, भोकमरी नबढेको,सबै स्थानीय तहमा वित्तिय सेवा पुगेको,व्यवसायीक आयकरको दायरा ५२ दशमलब २ प्रतिशतले बढेको , बिमा सेवाको विस्तार २२ दशमलब ७ प्रतिशत पुगेको तथा कोभिडको महामारीमा पनि ५ प्रतिशत मात्रै मुल्यवद्धि भएको दाबी उनले गरे ।
पुर्ननिर्माण तथा विकास निर्माणका कामहरु
प्रधानमन्त्री ओलीले भुकम्पले क्षति पुर्याएका सरकारी भवनहरुको पुर्ननिर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको बताए । उनले निजी निवास, सरकारी निवास, सरकारी भवन, सुरक्षा निकायका भवन, स्वास्थ्य संस्थानका भवन, धार्मिक एवं पुरातात्विक महत्वका भवन पुर्ननिर्माणको क्षेत्रगत विवरण पनि प्रस्तुत गरे ।
रानीपोखरी पुर्ननिर्माण भएको, धरहरालाई ऐतिहासिकता कायम गर्दे आधुनिक रुपमा पुर्ननिर्माण गर्ने काम भईरहेको, दरबारहाईस्कुल को पुर्ननिर्माण सम्पन्न भईसकेको बताए । उनले मुलुकभरका कालोपत्र सडकको विद्यमान अवस्था र निर्माणको विस्तृत विवरण पनि प्रस्तुत गरे ।
तुईन विस्थापित भएर झोलुङगे पुल निर्माण भएको उनले बताए । निर्माणको अनुपात हेर्दा प्रत्येक दिन ५ किलोमिटर सडक कालोपत्र हुने र हरेक दिन १ भन्दा बढी झोलुङगे पुल निर्माण भईरहेको उनले बताए ।
हुलाकी राजमार्ग, रेल आयोजना, मध्यमार्ग, लोकमार्ग, उर्जा उत्पादन तथा वितरण, हाईड्रोपावर आयोजना लगायत क्षेत्रभएको विकास र विस्तारको विवरण पनि उनले प्रस्तुत गरे ।
प्रधानमन्त्री कृषिआधुनिकी करण बार्षिक अनुदान १० अर्ब भन्दा माथि पुर्याईएको, दुध, माछामासु, तरकारी लगायत उत्पादनको वृद्धि अनुपात पनि उनले प्रस्तुत गरे ।
उनले बैदेशिक लगानी, उद्योगधन्दाको विस्तार, इन्टरनेट, टेलिफोन , विमानस्थल निर्माण तथा विस्तार शिक्षा स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको बताए ।
भ्रष्टाचार र सुशासन
प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारको विरुद्धको अभियान सशक्त ढंगले अघि बढेको र पद र पहुँचका आधारमा भ्रष्टाचारीले छुट नपाउने दोहोर्याए ।
उनले भने “दुराचारी र दुराचार र भ्रष्ट र भ्रष्टाचारीका सन्र्दभमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मु हेरेर सजाय तोकिन्नँ । कारवाही गर्ने/नगर्ने फैसला लिईन्नँ ।”
उनले झुटा नक्कली बिजक बनाउने, विदेशी विनिमय अपचनल गर्ने, राजश्व चुहावट लगाय यसबर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इतिहासमै सबै भन्दा धेरै मुद्दा दायर गरेको तथा मुलुकका विभिन्न स्थानका सरकारी जग्गाहरु सरकार मातहत ल्याउने काम भएको बताए ।
महिला हिंसा
प्रधानमन्त्रीले महिला हिंसा लगायत जघन्य हिंसाका दोषिलाई उम्कन नदिने प्रतिवद्धता जनाए । सरकारले एसिड आक्रमण तथा बलात्कार र महिला हिंसा विरुद्धका अध्यादेशहरु ल्याएको र सो मार्फत दोषीलाई हदै सम्म कारवाही गर्ने, पीडितलाई तत्काल क्षतिपूति सहित न्याय दिने बताए ।
नेपालको अवस्था सुधारोन्मुख
प्रधानमन्त्रीले अन्तराष्ट्रिय अध्ययन प्रतिवेदनहरुले नेपाललाई लगानीको वातावरणमा सुधार, शिक्षा स्वास्थ्य खानेपानी, सामाजिक सुरक्षाको वातावरण लगायतमा राम्रो सुधार भएको देखाएको बताए ।
उनले भने “देशमा केही हुन नसकेको भन्ने गुनासोको स्थिति देखिएपनि खासगरी यो विभिन्न प्रकारका विरोधी हल्लाहरुले र भ्रमहरु श्रृजनाले त्यस्तो देखिएपनि विश्वस्तरीय प्रतिवेदनहरुले पछिल्ला बर्षहरुमा नेपालले आर्थिक र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य प्रगति भएको देखिएका छन् । संयुक्तराष्ट्रसंघ, विश्व बैक लगायत अन्य अन्तराष्टिय संघ संस्था र निकायहरुले अघिल्ला बर्षहरुमा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले क्रमश सुधार गरिरहको निचोड सहितको आधारमा बाहिर ल्याएको छ ।”
ती प्रतिवेदनहरुमा कोभिडबीच पनि नेपालमा गरिबी नबढेको, प्रतिव्यक्ति आम्दानी पनि ८ सय ८७ बाट १ हजार ९७ पुगेको देखाएको उनले बताए । उनले कोही भोकै मर्दैन कोही भोकले मर्दैन भन्ने सार्थकता पाएको बताए ।
चुनाव हुन्छ , निराश हुनुपर्ने अवस्था छैन
प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने बताए । निर्वाचनका लागि आयोगले पनि आवश्यक तयारी गरिरहेको भन्दै उनले सबै नेपालीलाई निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरे ।उनले विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी हुन आमन्त्रण गरे ।
उनले भने “केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु चुनाव हुन्छ । बैशाख १७ गते र बैशाख २७ गते निर्वाचन हुन्छ । निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुने छ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।”
उनले प्राप्त उपलब्धिलाई हेर्दा निराश हुनुपर्ने अवस्था नभएको र निर्वाचन पछि मलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वाचन पछि सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने बताए ।
उनले भने “प्राप्त उपलब्धिका आधारमा अझै नेपाल बन्छ र बनाउन सकिन्छ भनी मेरो आत्मबल दृढ भएको छ । जुन आर्थिक बर्षलाई मैले समृद्धिको आरम्भ बर्षको रुपमा प्रस्तुत रेँ, त्यसै बर्ष म बिरामी परेँ । जुन बर्ष विकासका कामलाई हामीले तिब्रताका साथ अगाडि बढाउनु थियो, त्यसै बर्ष कोभिड १९ को महामारीले हामीलाई पनि अत्यायो । जतिखेर राष्ट्र एक भएर महामारीका विरुद्ध जुध्नु पर्ने थियो, त्यही समय मेरा सहकर्मीहरु सरकार कसरी ढाल्ने भन्ने उद्यम मा ज्यानै फालेर लाग्नुभयो ।”