३ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते सर्वोच्च अदालतले दिएको आदेशको जानकारी पाएका छन् । सर्वोच्च अदालतका तामेलदारले आइतबार प्रधानमन्त्रीलाई म्याद बुझाएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।
अदालतको अवहेलना गरेको भनेर प्रधानमन्त्री ओलीविरुद्ध परेको मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अब उनले म्याद बुझेको एक साताभित्र लिखित जवाफ पेश गर्नुपर्छ ।
अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।
गत माघ १५ गते न्यायाधीश शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उनीहरुले सोमबार अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका छन् ।