नेपालमा भाजपाको सरकार बनाउँने अमित शाहको अभिब्यक्ति निन्दनीय छः रावल

नेपालमा भाजपाको सरकार बनाउँने अमित शाहको अभिब्यक्ति निन्दनीय छः रावल

४ फागुन, विराटनगर ।
पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले नेपालमा भाजपा सरकार बनाउने योजना रहेको सम्बन्धी भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्तिको निन्दा गरेका छन्।

भारतका गृहमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापना गर्ने योजना बनाएको त्रिपूराका मुख्यमन्त्री विप्लव देवले बताएका थिए।

त्रिपूराका मुख्यमन्त्री देवले गृहमन्त्री शाहलाई उद्धृत गरेर दिएको उक्त अभिव्यक्तिको नेता रावलले निन्दा गरेका हुन्। नेपाल विरोधी कुनै पनि काम कुरा देशभक्त नेपालीलाई सह्य नहुने रावलले बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय गुप्तचर प्रमुखसँगको गोप्य भेट नै यस्ता अभिव्यक्तिको कारक रहेको दाबी गरेका छन्।

‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ। यो प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो’, रावलले ट्विटमा भनेका छन्।

इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले विप्लव देवसँग अमित शाहले शनिबार भएको भेटमा नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापित गर्ने योजना रहेको बताएको उल्लेख गरेको छ।

शनिबार त्रिपूरा भ्रमणमा गएका गृहमन्त्री शाहले रविन्द्र शतवार्षिकी भवनमा भएको पार्टी बैठकमा भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना रहेको बताएको खबरमा उल्लेख छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.