६ फागुन, काठमाडौँ ।
नेपाल पर्यटन बोर्डले कोभिड–१९ बाट प्रभावित अधिकांश पर्यटन व्यवसायीहरुले पुनरकर्जा सुविधा पाउन नसकेको स्वीकार गरेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा सानो लगानीमा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले पुनरकर्जा सुविधा पाउन नसकेको गुनासो गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यस्तो स्वीकार गरेका हुन् ।
उनले पुनरकर्जा कार्यविधि निर्माण गर्दा गरिएको परिकल्पना नै गलत भएकाले अधिकांश पर्यटन व्यवसायीले पुनरकर्जा उपभोग गर्न नपाएको बताए । पुनरकर्जा सम्बन्धी कार्यविधि निर्माण गर्दा पर्यटनसँग आवद्ध मजदूर र घर भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई सम्बोधन गर्ने खालको नगरिएकोले समस्या आएको बताए । सरकारले पर्यटन विज्ञहरुको रायसुझाव लिएर निर्णय गरेको भए कुनै समस्या नहुने स्थिति निर्माण हुने पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । सरकारले पुनरकर्जाका लागि छुट्याएको बजेटको ८० प्रतिशत रकम उपभोग भइसकेको भएपनि अहिलेसम्म ८० प्रतिशत व्यवसायीहरुले कर्जा उपभोग गर्न नपाएको बताए । त्यसैले जसलाई लक्षित गरेर ल्याइनुपथ्र्यो उनीहरुलाई सहज हुने खालको पुनरकर्जा कार्यविधि नबनेको अनुभुति भएको पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको तर सरकारले दिएको राहत पाउन नसकेको गुनासो गरेका थिए । यस्तै पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारले उपयुक्त मापदण्ड बनाउन नसकेको गुनासो समेत पर्यटन व्यवसायीहरुले गरेका छन् ।