७ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले जनताले देख्ने गरी चुनावको तयारी नभएको बताएका छन् । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले निर्वाचन आयोगलाई समयमै कार्यक्रम प्रकाशित गर्न आग्रह गरेका छन्।
‘केहि दिनअघि निर्वाचन आयोग गएर निर्वाचनको तयारी समयमा गर्नुपर्दछ भनेको छु। तर कार्यक्रम प्रकाशित गरिएको छैन। तयारी हुँदैछ भनेको थियो। जनताले निर्वाचनको तयारी देख्नेगरी थाहा पाएका छैनन्। तोकिएकै समयमा चुनाव गर्न निर्वाचनको मिति घोषणा गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव गराएर छोड्ने दावी गरे। उनले चुनावविरुद्ध कुनै प्रकारको षड्यन्त्र हुन नहुनेसमेत उल्लेख गरे । उनले भने,’ तोकिएकै समयमा चुनाव हुनुपर्छ भनेर घोषणा गरिएको हो। त्यसविरुद्ध कुनै पनि षडयन्त्र हुनुहुदैन।’
केपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड-समूह विभिन्न बहाना बनाएर सरकारलाई धरायसी बनाउन खोजेको आरोप लगाएका। उनले भने, ‘बहुमत भत्काउने। स्थिरता र स्थायीत्व भत्काउने। अनि अस्थिरतामा खेल्ने। एउटा अग्रगामी भिजनमा काम गरिरहेको सरकारलाई धरायसी बनाउने ,यी प्रयासहरु थिए। हुन दिएन र फेरि जनताको बीचमा ताजाजनादेशमा जानु पर्यो।’
जनताको बीचमा ताजाजनादेशमा जाँदा संविधानमा कुनै खतरा नभएको प्रधानमन्त्री ओलीले भनाइ छ। उनले प्रचण्ड-माधव समूहले आफ्ना विरुद्ध ठूलै षडयन्त्र गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटन गर्नुभन्दा पहिले नै प्रचण्ड समूहले आफू विरुद्ध चक्रव्यू निर्माण गरिरहेको र त्यो चक्रव्यू गठन नहुँदै आफूले तोडि दिएको बताएका छन्।
‘अस्थिरताको एउटा चक्रव्यू। त्यो गठन गर्दैगर्दा नै पहिले नै तोडियो। बडो गम्भीर ढंगले परापूर्वकालदेखिको सारा अनुभव संगालेर चक्रव्युका रचयीताहरु चक्र निर्माण गरिरहेका थिए। त्यो चक्रव्यूको अन्तिम तयारी हुनेबेला व्यू तोडियो,’ उनले भने,’ केही मिनेटको कुरा रहेछ। २:२० मा संसद विघटनको सूचना जारी भयो। ३ :३० बजे अविश्वासको प्रस्ताव दर्ता गरे। तर तयारी कस्तो रहेछ भन्ने कुरा त देखियो नि। तर त्यहाँ चक्रव्यू थियो। बहुमतको पार्टी फुटाउने चक्रव्यु थियो त्यो।’
उनले चुनाव हुन नदिन प्रचण्ड-नेपाल समूह लागिपरेको बताए।