७ फागुन, काठमाडाैँ ।
प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । उनले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।
राष्ट्रपति भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए ।
संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट रहेकाले उनीहरु सहभागी नभएको स्रोतको भनाइ छ ।