८ फागुन, काठमाडौं ।
सरकारले नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाह गरिदिएको छ।
पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल सजाय सरकारले मिनाहा गरेको हो। यी तीनैजना प्रधानमन्त्री केपी शर्मा ओली खेमा समर्थक हुन्
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा ५ सयभन्दा बढी कैदीबन्दीसँगै यी ३ जनाको बाँकी कैद सजाय मिनाहा स्वीकृत गरेकी हुन्।
श्रेष्ठ, मोक्तान र केसीले २०६८ पुसमा जिल्ला चितवन कारागारभित्रै तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या गरेका थिए।
नेपाली कांग्रेसनिकट तरुण दलले सरकारी कदमको निन्दा गरेको छ। दलका अध्यक्ष जीतजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी उनीहरूलाई आममाफी दिइएकोप्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछ।’
जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवाञ्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन(प्रतिदिन बढ्दै गइरहेको प्रष्ट भएको विज्ञप्तिमा लेखिएको छ।
तरुण दलले यसको विरोधमा विरोधका कार्यक्रम गरिने जनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाहा तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो।