८ फागुन, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपामा दाहाल–नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको आरोप लगाएका छन् ।
नेकपा केपी शर्मा ओली समूहको विराटनगरमा आयोजित सभामा मुख्यमन्त्री तथा नेता राईले प्रदेश कब्जा गर्न नदिने बताएका छन् । राईले प्रदेशमा गरिएको आक्रमण सहज ढंगले परस्त गरिने बताउँदै सबै राजनीतिक दलहरूले कुनै न कुनै तरिकाले आगामी निर्वाचनको तयारीमा लागेको बताए ।
प्रचण्ड–नेपाल समूहले आजभोलि नै दल दर्ता गरेर निर्वाचनमा जुट्ने तयारी गरिरहेको आफूले थाहा पाएको पनि उनले बताए । राजनीतिक स्थायित्व र शान्तिको लागि मतदान गर्न उनले अपिल गरे ।
दाहाल–नेपाल समूहले मुलुकलाई स्थितरता सिर्जना गर्ने प्रयास गरेको उनको आरोप छ । प्रचण्ड–नेपाल समूहले प्रधानमत्री, राष्ट्रपति, मुख्यमन्त्री हटाएर अस्थिरता निम्त्याउन खोजेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने निर्णय सही र लोकतान्त्रिक भएको तर्क राखे । उनले ओली कित्ता राष्ट्रवादी, विकास, समृद्धि, शान्ति र स्थायित्वको कित्ता भएको पनि बताए ।