८ फागुन, विराटनगर ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । ओली पक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको सभामा सम्बाेधन गर्दै उनले उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको बताए ।
‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ। उहाँको पदले भाषण गर्दै हिड्ने, सरकारको विरोध गर्दै हिड्ने अधिकार दिएको छैन,’ ओलीले थपे, ‘संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरु प्रतिनिधि सभा विघटन गरेर बेठिक भयो भन्दै हिँड्नु भएको छ।’
उपराष्ट्रपति पुनले चुनाव गर्न पाईंदैन भन्दै हिँडेको बताउँदै उनले निर्वाचनको पक्षमा उभिन आग्रह गरेका छन् । उनले भने ‘उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनु भएको थियो। अब त कमसेकम चुनाव हुनेतिर आउनुस् ।’
ओलीले सरकारसँग झगडिया बनेको भन्दै सभामुखको पनि आलोचना गरेका छन् । उनले भने, सभामुखले झगढिया हुन सुहाउँछ ? सभामुख छानेको झगडिया हुन हो ?’