व्यवस्था फेरिएर मात्र जनताको अवस्था फेरिदैन, सही व्यक्ति पनि चयन हुनुपर्छः सीके राउत

व्यवस्था फेरिएर मात्र जनताको अवस्था फेरिदैन, सही व्यक्ति पनि चयन हुनुपर्छः सीके राउत

९ फागुन, भैरहवा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले संसद विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन्। उनले करिब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु आफैंमा असामान्य घटना भएको बताए।

आइतबार रूपन्देहीको भैरहवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै राउतले जनताले जिताएर पठाए पनि सरकारले काम गर्न नसकेको बताए। मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर जनताले पठाए पनि काम गर्न नसक्नु सरकारको कमजोरी भएको बताए। राउतले नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश बनेको स्पष्ट पारे।

जनताले चुनावमा सही व्यक्ति चयन गर्न नसक्दा नेपालमा धेरै व्यवस्था फेरिए पनि अवस्था नफेरिएको राउतको भनाई थियो। ‘व्यवस्था फेरिएर मात्र जनताको अवस्था कहाँ फेरिन्छ र, अवस्था फेर्नको लागि त सही व्यक्ति चयन हुनुप¥यो नि,’ राउतले भने ।

राउतले नेपालमा भइरहेका आन्दोलनको पर्दा पछाडि बाहिरी शक्ति लागेको भन्दै बाहिरी शक्तिबाट नेपालको राजनीति नियन्त्रित भईरहेको दाबी गरे। नागरिक समाजका नाममा हुने गरेका आन्दोलन र विरोध कार्यक्रममा पनि राजनीतिक रंग देखिएको उनले आरोप लगाए।

उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै त्यस्ता जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन पाउनुपर्ने व्यवस्था भए मात्रै राजनीति सही ट्रयाकमा आउने उनको दाबी थियो।

राउतले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले त्यसप्रति अहिल्यै केहि नबोले पनि संसद पुनःस्थापना नभए आफूहरू चुनावमा जान तयार रहेको बताए। उनले अब निर्वाचन भयो भने मुलुकको लागि सहि व्यक्तिलाई चुन्नुपर्ने दिन आएको जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.