काठमाडौं : प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको फैसला मंगलबार साँझ हुनेबारे रिट निवेदकहरूले समेत पत्तो पाएनन्। फैसला आउँदा सर्वोच्चको परिसर अगाडि न भीडभाड हुन पायो। न रिट निवेदकले त्यहाँ आएर खुुसी साटासाट गर्न नै पाए। उनीहरूले फोनमार्फत नै एकआपसलाई बधाई दिए।
मंगलबार नै फैसला आउनेमा रिट निवेदकहरू पनि विश्वस्त थिएनन्। इजलास बसेको उनीहरूले थाहा पाएका थिए। फैसला आइहाल्ने आकलन भने उनीहरूले गरेका थिएनन्। फैसला आउनु एक घण्टा अगाडि रिट निवेदक अधिवक्ता सुरेन्द्र भण्डारी अर्का अधिवक्ता सरोजकुमार घिमिरेसँग छुट्टिएर घर गएका थिए। ‘इजलास बसेकोले फैसला आउँछ भन्ने थियो, तर तत्काल नै आइहाल्छ भन्ने लागेको थिएन’, निवेदक भण्डारीले भने ।
भण्डारी र घिमिरेले फोनमार्फत शुभकामना आदानप्रदान गरे। फैसलापछि केही अधिवक्ता मात्रै अदालत परिसरमा थिए। यीमध्ये केहीले मात्रै पत्रकारसँग प्रतिक्रिया दिए।
फैसलाका पक्षमा रहेका अधिवक्ताहरू कीर्तिनाथ शर्मा र राजेश काफ्लेसँग सञ्चारकर्मीले पालैपालो प्रतिक्रिया लिए। शर्माले सर्वोच्चको फैसलाले जनताको जित भएको बताउँदै भने, ‘यो संविधानवादको जित हो, जनताको जित हो ।’ उनले फैसला संवैधानिक इजलासको पूर्ण इजलासले भएकाले पुनरावलोकनमा जान नसक्ने जिकिरसमेत गरे। फैसलामा प्रधानमन्त्री केपी शर्मा ओलीले १३ दिनभित्र विश्वासको मत लिन सक्ने विकल्प रहेको शर्माले प्रष्ट्याए। ‘विश्वास मत लिन नसके ओली पदबाट हट्ने छन्’, उनले भने।
अर्का अधिवक्ता काफ्लेले सर्वोच्चको फैसला सबै मान्नुको विकल्प नरहेको बताए।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।