१२ फागुन, विराटनगर ।
विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट विधिको शासन पुनर्बहाली भई मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको पनि पार्टीले जनाएको छ ।
पार्टीले राष्ट्रप्रति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेको छ । पार्टीले बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएको छ ।
‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ ।
विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसद्बाट नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संविधानको रक्षा गर्ने दायित्व ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई सदर गर्दै साथ दिएकाले राष्ट्रपति भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने विवेकशील साझाले जनाएको छ ।
‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदलाई हामी आह्वान गर्दछौं,’ पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टीले पछिल्लो समय असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्ति खारेज गर्न पनि माग गरेको छ ।