१२ फागुन, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरु भनि टिप्पणी गरेका छन्। पुष्कपमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरुलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले चितवनमा ‘मुह मिठा’ गरेको टिप्पणी गरे ।
सर्वोच्चको फैसलापछि बुधबार दिउँसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताए । उनले भने ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाईहरुले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन । खुसी भएर, जित्यौं भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन अब हेर्नुछ ।’
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताए । तर आफूलाई त्यता तर्फ कुनै चिन्ता नभएको बताए । उनले भने ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जीन्दगीको कुनै ठेगान छैन । जवसम्म बाँचिन्छ तवसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ ।’
प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दावी समेत गरे ।