प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार हुँदैन : मन्त्री साह

प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार हुँदैन : मन्त्री साह

१४ फागुन, गौर ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताएका छन् ।

शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रधानमन्त्री बन्ने उनीहरुकाे सपना साकार नहुने बताए ।

जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्टी बनाएको भए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको उनले आराेप लगाए । ‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।’

‘संसद पुनर्स्थापनापछि प्रचण्ड माधवहरू प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् । हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए,’ मन्त्री साहले भने, ‘तर जति छटपटाए पनि, जति गिडगिडाएपनि माधव प्रचण्डहरूले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरूका लागि खाल्डो खन्नेहरू त्यसमा आफैँ पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले विश्वास गरिरहेको छैन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.