दरबार हाई स्कूलमा शिक्षामन्त्रीको निरीक्षण

दरबार हाई स्कूलमा शिक्षामन्त्रीको निरीक्षण

१५ फागुन, काठमाडौँ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन्।

चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी भएका थिए।

सो अवसरमा उनीहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गरेका थिए।

भूकम्पले भत्किएको दरबार हाई स्कूल चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिए।

नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले उद्घाटन समारोहका अवसरमा कात्तिक ५ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए।

चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ । भवनमा भानु र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालन भइरहेका छन् ।

विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालयपछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो ।

विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाई स्कूललाई विसं २०२४ देखि भानु माध्यमिक विद्यालय नामाकरण गरिएको हो ।

पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो ।

विद्यालय भवन उद्घाटनका बेला कोरोना महामारीका कारण अनलाइन माध्यमबाट पढाइ भइरहेकामा गत माघदेखि महानगरपालिकाले भौतिकरुपमा विद्यालय सञ्चालन गर्न थालेपछि दुवै विद्यालयका पठनपाठन नवनिर्मित विद्यालयमा भइरहेको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.