वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारियोः प्रधानमन्त्री

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारियोः प्रधानमन्त्री

१८ फागुन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वन सँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने बताए ।

मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् । वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याए ।

उनले भने – ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहीँ ठानेको थिइन । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होईन, वैज्ञानिक नीति हुनुप¥यो । दिगो वन विकास नीति हुनुप¥यो । प्रतिफल दिने विकास नीति हुनुप¥यो । र यो कुरा के भने हामि नीतिहरु बनाउँदा तपाईहरुको साथ लिएर बनाउँछौ । जनताको साथ लिएर बनाउछौ । उपभोक्ताको साथ लिएर बनाउँछौ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जिवजन्तुको संरक्षण, सुरक्षा आदि इत्यादी सबैकुरा जनताको साथ लिएर बनाउँछौँ ।’

प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भुमिका खेलेको बताए । उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको उनको भनाई छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि उनले बताए ।

उनले भने – ‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुर्नउत्थान गरेका छन् । तिनलाई पुर्नजिवन दिएका छन् । र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरुलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा यी सबै कुरामा धेरै ठुलो योगदान पुगेको छ ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताए । वनको अधिकतम सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.