५० लाख डोज कोरोना खोप किन्ने सरकारको तयारी

५० लाख डोज कोरोना खोप किन्ने सरकारको तयारी

१९ फागुन, काठमाडौँ । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको छ ।

मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको बताएका हुन् ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ ।

३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उनले जानकारी दिए । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उनले बताए ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरु देखा नपरेको बताए ।

डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उनको भनाई छ ।

पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.