‘निर्वस्त्र’ आन्दोलन गर्ने वादी समुदायका महिलाहरुको चेतावनी

‘निर्वस्त्र’ आन्दोलन गर्ने वादी समुदायका महिलाहरुको चेतावनी

२१ फागुन, सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना दिएका वादी समुदायका महिलाहरुले ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफ्ना मागहरुप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरुले ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘आज १२ दिन भयो, भोकै धर्नामा बसेको, पानी माग्दा सरकारले लाठी हान्छ, शान्तिपूर्ण आन्दोलन सरकारले देख्दो रहेनछ,’ धर्नामा बसेकी कौशिला वादीले शुक्रबार दिउँसो आक्रोश पोखिन्, ‘सरकार हामीले हाम्रा माग पूरा गराउन के निर्वस्त्र आन्दोलन गर्नुपर्ने हो ?’

उनले थपिन, ‘खुला आकाशमा रात बिताइरहेका छौं, दिउँसो घामले पोल्दै, राति चिसोले कठ्याङग्रिन्छौं, पेटभरि खान पाएका छैनौं । यो हाम्रो रहर हैन, बाध्यता हो सरकार ।’

माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्दै आएका वादी सममुदाय आफूले गर्दै आएको काम संकटमा परेपछि जीविकोपार्जनको विकल्प दिन माग गर्दै मुख्यमन्त्री कार्यालयबाहिर धर्नामा छ ।

दैलेखकी रामकुमारी वादी भन्छिन्, ‘गरी खाने जग्गा छैन, मजदुरी गर्ने ठाउँ छैन, मागी खाउँ कतिदिन खाउँ ? अब त अति भो सरकारले जग्गा नदिएसम्म यहाँबाट जाँदैनौं, बरु ज्यानै जाओस् ।’

बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरी महिलासहित वादी समुदायका चार सय जना भन्दा बढी मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा छन् ।

सरकारले जग्गा उपलब्ध गराइदिए आफूहरु केही सीपमूलक काम गरेर जीविकोपार्जन गर्ने वादी समुदायको भनाइ छ । ‘प्रदेश सरकार राउटेलाई जग्गा दिन तयार छ । तर, हामीलाई भने एक इन्च जमिन पनि दिन मिल्दैन भन्छ,’ वादी अगुवा हिक्मत वादीले भने ।

सरकारले जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने उनीहरुको अडान छ । उता, प्रदेश सरकारले भने जग्गा दिने अधिकार आफ्नो क्षेत्राधिकारभित्र नभएको भन्दै संघ र स्थानीय सरकारसँग माग गर्न अनुरोध गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.