काठमाडौं : सुरक्षा खोसेको केही हप्तापछि नै गृह मन्त्रालयले नेताहरुलाई फेरि व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) खटाउन थालेको छ ।
गृहले हालै ११ जना नेतालाई पीएसओ दिने निर्णय गरेको हो । दुई महिनाअघि मन्त्रिपरिषद्बाट स्वीकृत भएको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीबाहेक अन्य नेताको सुरक्षा कटौती गरिएको थियो ।
सुरक्षाकर्मी फिर्ता गरिएलगतै आफूहरुलाई सुरक्षा जोखिम बढेको भन्दै नेताहरुले गृहमा निवेदन दिएका छन् । सोही निवेदनअनुसार गृह मन्त्तालयले केहीलाई फेरि पिएसओ खटाउन थालेको छ । पिएसओ दिनेमा धेरैजसो काँग्रेस नेताहरु छन् ।
नेताहरु गोमालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, सुरेन्द्र पाण्डे, बालकृष्ण खाण, राजेन्द्र श्रेष्ठ, डा. रामशरण महत्त, डा. प्रकाशसरण महत्त, डा. प्रकाशचन्द्र लोहनी, सुमनराज प्याकुरेल, देवेन्द्र कँडेलले नेपाल प्रहरीबाट पिएसओ लिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
गृहसचिव नेतृत्वको सुरक्षा जोखिम मूल्याकंन समितिबाट निर्णय गराएर उनीहरुलाई पिएसओ खटाइएको हो । यसअघि उनीहरुले सशस्त्र प्रहरीका कर्मचारी राखेमा हाल नेपाल प्रहरीबाट खटाइएको छ । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।