प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था

२६ फागुन, काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि आज दोस्रो पटक संसद बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्न लागेको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यसअघि गएको फागुन २३ गतेको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलका सांसदले विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपालगायत दलका सांसदहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै हिजो संसद सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन् ।

हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै प्रभावित भएकोले आजको बैठक पनि त्यस्तै हुने सम्भावना बढेको छ । यस्तै दलहरूबीच विवाद बढ्ने सम्भावना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नबसे पनि विवरणलाई केही हेरफेर गरेर बैठकको सम्भावित सूची सार्वजनिक गरिएको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार अस्तिको बैठकको विषयबस्तु नै आजको बैठकको एजेण्डाको रुपमा सार्वजनिक गरिएको बताएका छन् ।

संसद सचिवालयले नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको छ। नेकपा खारेज भएको सूचना प्राप्त भएपछि संसद सचिवालयले आजको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगको पत्र प्राप्त भएकाले दुवै पार्टीलाई छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाइएको बताए।

छुट्टै दल भएपनि माओवादी केन्द्र अहिले पनि सत्ता पक्ष नै भएकाले एमालेका सांसदहरु बस्ने नजिकै अर्को लहरमा छुट्टै बस्ने व्यवस्था मिलाइएको योगीले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.