प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

२७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ ।

बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्नेछ ।

प्रधानमन्त्री ओलीले अहिले त्यसै विषयमा जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो, र अशोक राई बिहीबार छलफलमा बसेका थिए ।

उनीहरुले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जसपाका एक नेताले जानकारी दिए ।

सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीसँग नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ । तर जसपा नेताहरुले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिएको छ ।

जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रमा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका माग अघि सारेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.