२७ फागुन, विराटनगर ।
विराटनगरबाट प्रहरीले कालोबजारी गरेको अभियोगमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । विराटनगर ११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विहीबार दिउँसो सोही स्थानमा रहेको खेम्काको गोदामबाट २ सय लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खालीबोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।
उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वाेको स्टीकर टाँसी विक्रीबितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्काका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।