२७ फागुन, भद्रपुर ।
झापामा पूर्वी नेपालकै सबैभन्दा ठुलो आकर्षक शिव प्रतिमा अनावरण गरिएको छ ।
बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा समुदाय स्तरमा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव–प्रतिमाको महाशिवरात्रिको अवसर पारेर आज प्रथम महिला जगतगुरु शङ्कराचार्य हेमानन्द गिरीको बाहुलीबाट अनावरण गरिएको हो ।
जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक दीपक दाहालले जानकारी दिनुभयो । समुदाय स्तरबाट आर्थिक सङ्कलन गरी सो शिव प्रतिमा दुई महिनाभित्र स्थापना गरिएको र निर्माण गर्दा करिब ३८ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनु भयो । कला र सौन्दर्यको दृष्टिकोणले यो शिवमूर्ति प्रदेश १ कै उत्कृष्ट र भव्य रहेको दाहालको दाबी छ ।
प्रतिमासँगै पूर्व–पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाइएको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने निर्माण समितिका सचिव युवराज दाहालले बताए ।