२८ फागुन, काठमाडौँ ।
नेकपा एमालेले चैत १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । २०७५ जेठ ३ गते माओवादी केन्द्रसित एकीकृत भएर नेकपा बनेपछि एमाले विघटन भएको थियो तर गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको हाे ।
सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने बताए । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।नवौं महाधिवेशनमा निर्वाचित र पछि मनोनीत गरी एमालेका २ सय ५ जना केन्द्रीय सदस्य छन् ।
तीमध्ये माधवकुमार नेपाल पक्षमा ९० जना छन् भने १० पद रिक्त छन् । उपाध्यक्ष वामदेव गौतमसहित ३ जना तटस्थ बसेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा १०२ जना केन्द्रीय कमिटी सदस्य छन् । २५ सदस्यीय स्थायी कमिटीमा १२ जना ओली र १२ जना नेपाल पक्षमा छन् । स्थायी कमिटी सदस्य सोमनाथ प्यासी प्रदेश प्रमुख भएपछि उनको ठाउँ रिक्त छ ।
नेकपाको पदाधिकारीमा भने खनाल–नेपाल निकटको वर्चस्व छ । महाधिवेशनबाट चयन हुने १५ सदस्यीय पदाधिकारीमा विद्या भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्षको एक पद खाली छ ।
केन्द्रीय कमिटीको बैठक बसेर केही न केही निष्कर्ष निस्किने सचिव गुरुङले बताए । एमाले ब्युँतिएपछि पार्टी नेताहरूका बीचमा औपचारिक संवाद भएको छैन । गत मंगलबार महासचिव, अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहेको सचिवालय बैठक बोलाइए पनि पछि स्थगित गरिएको थियो ।