२९ फागुन, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै कारबाहीको चेतावनी समेत दिए ।
उन भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु ।’
‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’
आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।
एमाले अध्यक्ष ओलीले भने, ‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं । केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको । खुट्टी देखेरै पत्याइयो । काम गर्न, पार्टी बनाउन आउनुस् । केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ।’