लहान मालपोतमा बिस्फोट गराएको आरोपमा एक जना पक्राउ

लहान मालपोतमा बिस्फोट गराएको आरोपमा एक जना पक्राउ

३ चैत, सिरहा ।

कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हिजो साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका-२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइने उनले बताए । सो बिस्फोटन गराउने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकता रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए ।

सो घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.