देउवाको बेवास्ताले जसपा अनिर्णीत, ओलीलाई फाइदा

देउवाको बेवास्ताले जसपा अनिर्णीत, ओलीलाई फाइदा

काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औपचारिक रुपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता नलिएको उनीहरुको गुनासो छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्वीकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला काँग्रेस सभापति देउवाले भने एकपटक पनि आफूहरुलाई बोलाएर छलफल नगरेको जसपाका नेताहरुको भनाइ छ । ‘हामी आफैले समय लिएर आफ्नो एजेन्डा राख्न गत शुक्रबार गएका थियौँ तर देउवाले हामीलाई बोलाएर एकपटक पनि छलफल गरेका छैनन्,’ वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘सित्तैमा सहयोग गर्ने वाला छैनौँ । जसले हाम्रा मुद्दा सम्बोधन गर्ने भरोसा दिलाउँछ, उसैलाई हामी सहयोग गर्छौं ।’, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.