सरकार गठनमा पार्टी सभापति देउवाको उदासिनता रहस्यमयः रामचन्द्र पौडेल

सरकार गठनमा पार्टी सभापति देउवाको उदासिनता रहस्यमयः रामचन्द्र पौडेल

३ चैत्र, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनमा पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता रहस्यमय भएको बताएका छन् ।

पूर्णप्रसाद–मायादेवी शान्ति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले भने, ‘यो अनिर्णयको अवस्थामा हाम्रो पार्टी र ढुलमुल अवस्थामा हाम्रो नेतृत्व रहन हुँदैन ।’

जनता समाजवादी पार्टीका नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेजे गर्छु भनेर आश्वासन दिएको छ, त्यो कांग्रेसले पनि गर्छ भनेर साथ लिनुपर्ने उनले बताए । महामन्त्री शशांक कोइरालाको घरमा बसेको बैठकबाटै आफूले सभापतिलाई फोन गरेको भन्दै पौडेलले भने, जसपा र माओवादी केन्द्रलाई पनि साथ दिऊँ, यो सरकार ढलाइदिऊँ । तर अहिलेसम्म यो अगाडि बढ्न सकेको छैन ।’

जसपाका नेताहरुबाट कांग्रेस सभापतिले निधो नगरेको गुनासो आएको भन्दै उनले भने, ‘यस्थास्थितिमा हामी रहने हो भने फेरि पनि राजनीति उल्टो दिशामा जाँदैछ ।’

मुलुकलाई अराजकतातिर लैजाने प्रयास भइरहेको भन्दै उनले कांग्रेसले दह्रो निर्णय गर्नुपर्ने बताए ।

नेता पौडेलले अघि भने, ‘यहाँ थरीथरीका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरु चलिरहेका छन् । हामी राजनीतिक दलहरुले खेल अरुको हातमा जान नदिएर आफ्नै हातमा राख्नुपर्छ । हाम्रो देशको संविधान, प्रणालीको रक्षा हामी आफैंले गर्नुपर्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.