४ चैत, काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा शीर्ष स्थानका भुवन नगरकोटीलाई पछ्याँदै शुक्रबहादुर राईले उपाधि लक्ष्यलाई कायमै राखेका छन् ।
पार–७१ को गोकर्ण गल्फ क्लबमा बुधबार तेस्रो चरणको खेल सकिँदासम्म शुक्रले भुवनसँगको अग्रता दुई स्ट्रोकमा छोटयाउँदै उपाधि लक्ष्य कायमै राखेका हुन् । सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सूर्य नेपाल सेन्ट्रलमा बुधबार ५४ होलको खेल सकिँदा भुवनले ९ अन्डर २०७ स्कोर बटुल्दा शुक्रले सात अन्डर २०९ स्कोर जोडेका छन् । तेस्रो दिनको खेलमा भुवनले दुई ओभर ७४ को स्कोर कार्ड बनाएपछि शुक्रले उनीसँगको दूरी घटाउने अवसर पाएका हुन् । शुक्रले भने तेस्रो दिनको खेलमा एक अन्डर ७१ को प्रदर्शन गरेका थिए । यस अघि दोस्रो दिन भने भुवनले शुक्रमाथि पाँच स्ट्रोकका अग्रता बनाएका थिए ।
बर्डीबाट दिन सुरु गरेका भुवनले तेस्रो होलमा पनि दोहोर्याए । यद्यपि, छैटौं र नवौं होलमा बोगी खेपेसँगै उनी फ्रन्ट नाइनमा इभन पार ३६ रहे । भुवनले ब्याक नाइनमा दुई ओभर ३८ को कार्ड बनाउँदा १२औं र १५औं होलमा बोगी खेपेका थिए । शुक्रले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । तर, त्यस अघि पाँचौं होलमा बोगी सामना गरेका शुक्रले एक अन्डर ३५ को कार्ड बनाए । ११औं होलमा डबल बोगी खेपे पनि शुक्रले १४औं र १५औं होलमा बर्डी बटुलेसँगै ब्याक नाइनमा इभन पार ३६ मा रहे । त्यस्तै १२औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णविजेता सुवास तामाङले पनि तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।
तेस्रो दिन इभन पार–७२ मा खेलेसँगै उनले पाँच अन्डर २११ को स्कोर बटुले । सुवासले भने फ्रन्ट नाइनमा एक ओभर ३७ र ब्याक नाइमा एक अन्डर ३५ को कार्ड बनाए । सन्जय लामा चौथो, विजय इनहास श्रेष्ठ पाँचौ र रामे मगर छैटौं स्थानमा छन् । राजेन्द्र श्रेष्ठ, रवि खड्का र एमेच्योर गल्फर अजित विक संयुक्त रूपमा सातौं स्थानमा रहँदा २ सय १९ स्कोरमा छन् । तेस्रो दिन राजेन्द्रले एक ओभर ७५ जोड्दा अजित र रवि एक ओभर ७३ स्कोर गरे । अर्का एमेच्योर गल्फर टासी छिरिङ पनि शीर्ष १० भित्र अटाउँदा कुल पाँच ओभर २२१ स्कोर बटुले । दोस्रो चरणपछि २१ प्रोफेसनल र आठ एमेच्योर गल्फरले प्र्रतिस्पर्धा गरेका छन् ।