हामी प्रतिगमनकारीविरुद्ध उभिन्छौं, ओलीसँग लगनगाँठो कस्ने प्रस्ताव आएको छैनः उपेन्द्र यादव

हामी प्रतिगमनकारीविरुद्ध उभिन्छौं, ओलीसँग लगनगाँठो कस्ने प्रस्ताव आएको छैनः उपेन्द्र यादव

५ चैत, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्ताव पार्टीमा नआएको बताएका छन् । संसद विघटन गर्ने ओलीको कदमलाई पार्टीले प्रतिगमन मानेको भन्दै उनले प्रतिगनकारीसँग कुनै सहकार्य नहुने समेत बताए ।

एमाले इतरको गठबन्धनका लागि निर्णायक मानिएको जसपाले बिहीबार कार्यकारिणाी समितिको बैठक बोलाएको थियो । तर गृहकार्य नपुगेको भन्दै स्थगित गरेको छ ।

अध्यक्ष यादवका अनुसार सरकार गठनबारे प्रमुख प्रतिपक्षी र अन्य दलहरुको समझदारी बन्न सकेको छैन । यस्तो अवस्थामा जसपाले निर्णय गर्दैमा निकास पनि ननिस्कने भन्दै उनले भने, ‘प्रमुख प्रतिपक्षीको निर्णयमा अरु निर्भर गर्छ ।’

यद्यपि संसद विघटनको विपक्षमा रहेका शक्तिहरु मिलेर मुुलुकलाई निकास दिनुपर्ने उनले प्रष्ट पारे ।

संसद विघटन गर्नु असंवैधानिक र प्रतिगमनकारी कदम हो भनेर पार्टीले निर्णय गरेको भन्दै अध्यक्ष यादवले भने, ‘जब ओली प्रतिगमनकारी हो, गणतन्त्र, संघीयतालाई समाप्त पार्नकै लागि संसद भंग गर्न खोजेको हो भने उनीसँग सहकार्यले के प्राप्त हुन्छ ? ओलीसँगको सहकार्यले संघीयता बलियो हुन्छ ?’

उनले अघि भने, ‘हुँदैन भन्ने विगतमा प्रमाणित भइसकेपछि मरिहत्ते गरेर के प्राप्त हुन्छ ? यो मधेस आन्दोलनका लागि धोका हुन्छ ।’ ओलीसँग सहकार्य गर्नु लोकतन्त्रलाई धरापमा पार्नु र संघीयतालाई समाप्त पार्नु भएको समेत यादवले बताए ।

पार्टीमा अहिलेसम्म कसैले पनि ओलीसँग सहकार्य गर्ने भनेर प्रस्ताव नल्याएको समेत उनले बताए । अध्यक्ष यादवले भने, ‘कसैले प्रस्ताव ल्याउनुभएको छैन । हामी प्रतिगमनकारी शक्तिविरुद्ध उभिन्छौं, उनीसँग लगनगाँठो कस्न सक्दैनौं ।’

उनले अरु दलहरुसँग वार्ता गर्न पार्टीले डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, आफू स्वयं, राजेन्द्र महतो र अशोक राई रहेको कार्यदल बनाएको समेत प्रष्ट पारे ।

सर्वेन्द्रनाथ शुक्ल र लक्षणलाल कर्ण रहेको कार्यदल बनेको होइन र भन्ने प्रश्नमा उनले भने, ‘त्यो कार्यदल पार्टीलाई थाहा छैन । पार्टीले निर्णय गरेर बनाएको छैन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.