२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ ।
अहिले दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा उक्त प्रस्ताव फिर्ता लिने भएको हो ।
गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
तर सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो ।
अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको हो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सोमबार बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता हुनेछ ।