प्रहरी र तस्कर समूहबिच गोली हानाहान

प्रहरी र तस्कर समूहबिच गोली हानाहान

२४ चैत्र, रासस ।
कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबिच गोली हानाहान भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।

“भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो”, प्रहरी निरीक्षक थापाले भने, “बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।”

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ ।

गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.