गम्भीर प्रकृतिका अपराध बढे, प्रतिदिन ७ जबर्जस्ती करणी

गम्भीर प्रकृतिका अपराध बढे, प्रतिदिन ७ जबर्जस्ती करणी

२८ चैत्र, रासस ।
मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना बढेको छ ।

चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायत गम्भीर प्रकृतिका घटना बढेको कुँवरले बताए ।

समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रतिशतले कमी आएको कुँवरले जानकारी दिए । सो अवधिमा चोरी, बैंकिङ कसुर, ठगी जस्ता आर्थिक अपराधका घटनाकम कमी आएको छ ।

चालू आवको फागुनसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३०६ घटना दर्ता भएको छ ।

तथ्याङ्क हेर्दा प्रतिदिन झण्डै ११० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो ।

आठ महीनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भइ कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

सो अवधिमा ४ हजार ४८३ आत्महत्याका घटना भएका छन् । आव २०७६र७७ को सोही अवधिमा आत्महत्याको ३ हजार ५३४ घटना दर्ता भएका थिए ।

तुलनात्मकरूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको कुँवरले जानकारी दिए ।

गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका १ हजार ६५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

तथ्याङ्क विष्लेषण गर्दा प्रतिदिन औसत ७ जबर्जस्ती करणीका घटना भएको पाइएको छ । प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ ।

जबर्जस्ती करणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताए ।

कूल १ हजार ६५३ मुद्दाका १ हजार ८५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन् । समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् ।

आव २०७६–७७ को फागुन मसान्तसम्म जबर्जस्ती करणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९ घटना दर्ता भएको जनाइएको छ ।

पछिल्लो आठ महीनामा चोरीका कूल १ हजार ५६९ वटा घटना दर्ता भएको छ । गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ ।

यस्तै बैंकिङ कसुरसम्बन्धी अपराधमा यसपाली कम देखिएको छ । गत वर्षको फागुनसम्म बैंकिङ कसुरका २ हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा १ हजार ६८८ मुद्दा आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.