चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

२९ चैत, काठमाडौ । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ ।

चालू आर्थिक वर्षमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।

काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उनले भने, “यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।”

चालू आर्थिक वर्षमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उनले बताए । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ । उनले भने, “प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।”

गत आर्थिक वर्षमा काठमाडौँका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकोमा चालू आर्थिक वर्षमा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । मुख्य सडकमा पनि गत आर्थिक वर्षमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताए ।

अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआयोस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ ।

सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो । उनले भने, “चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ ।”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.