३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत आर्जन गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उनलाई नेकपा एमालेका सांसदले समेत साथ दिए । शाहीलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ । आज भएको मतदानमा ३७ जना सांसद उपस्थित थिए । विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाएका हुन् । मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले मत दिएका थिए । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीको दलसँग प्रदेशमा १३ सिट थियो, त्यसमध्ये पनि सांसद् धर्मराज रेग्मीले पद त्याग गरेर एमालेमा प्रवेश गरेपछि १२ सिटमा खुम्चिएको छ ।